हामी तथ्यमा आधारित स्वास्थ्य योजनाको कुरा गर्छौ तर योजना तर्जुमाका लागि तथ्यलाई उपयुक्त तवरले भण्डारण गर्न र अध्यावधिक गर्ने व्यवस्थित प्रणाली आवश्यक पर्दछ l

गुगल या अन्य कुनै सर्च इन्जिनमा नेपालको कुनै स्वास्थ्य तथ्यांक खोज्यो भने सयौँ नतिजाहरु भेटिन्छन् तर हामीले खोजेको विश्वसनीय तथ्यांक भेट्न हम्मे-हम्मे पर्दछ l गुगल जस्तो सर्च इन्जिनको आफ्नै बिशेषता छ यद्यपि कुनै देशको सम्बन्धित क्षेत्र (जस्तै: स्वास्थ्य ) को आफ्नै एकीकृत तथ्यांक प्रणाली हुनु आवश्यक हुन्छ जसभित्र कुनै तथ्यांक, त्यसको अध्यावधिक मिति, श्रोत, तथा प्रकाशन गर्ने संस्था आदि समेटिनु पर्दछ जसले गर्दा सोहीअनुसार कार्यक्रम तर्जुमा गर्न सहज हुन्छ l

हालको स्वास्थ्य तथ्यांक भण्डारणको अवस्था

नेपालमा सरकारी क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था (जस्तै: स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, सरकारी अस्पताल) तथा निजी क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुको सेवाको तथ्यांक स्वास्थ्य सेवा बिभागले प्रकाशन गर्ने बार्षिक प्रतिवेदनमा आउँछ l यसको साथै हरेक पाँच बर्षमा हुने जनासान्खिक तथा स्वास्थ्य सर्वेक्षणले समुदायमा आधारित स्वास्थ्य सूचांकको अवस्थालाई चित्रण गर्दछ l साथै अन्य संघ संस्थाले पनि आफ्नो तहबाट स्वास्थ्य सम्बन्धित तथ्यांकहरु सम्प्रेषण गर्ने गर्दछन् l

मन्त्रालयको हालको डिजिटल लाइब्रेरी http://opac.elibrary-mohp.gov.np/ मा क्लिक गर्दा एउटा सर्च विन्डो आउँछ l यद्यपी यसमा कुनै स्वास्थ्य सम्बन्धि जानकारी  खोज्दा चाहेको नतिजा आउंदैन l डिजिटल लाइब्रेरीको वेबसाइट पनि सुरक्षित छैन l तलको चित्रमा तपाइँ वेब एड्रेसको छेउमा नट सेक्युअर अर्थात् असुरक्षित देख्नुहुन्छ l

त्यसमा राखिएका प्रकाशनहरु अपर्याप्त छन् l कुनै सूचकको जानकारी पाउनु परेमा उक्त सूचक खोज्दा त्यस सम्बन्धि तथ्यांक अध्यावधिक नभएको प्रष्ट देखिन्छ l यसका साथै स्वास्थ्य सेवा बिभागको वेबसाइट ( www.dohs.gov.np  ) मा पनि नेपालको HMIS (एच.एम.आइ.यस ) मार्फत आएको तथ्यांकको बार्षिक प्रतिवेदन पाउन सकिन्छ तथापिं यसले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई मात्र समेट्छ l साथै स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले (www.nheicc.gov.np ) पनि जनचेतनामूलक सामाग्रीको प्रकाशन गरेको पाइन्छ तर यसको उदेश्य स्वास्थ्य सूचकको भण्डारण गर्ने नभै स्वास्थ्य जनचेतना फैलाउने रहेको छ l स्वास्थ्य अनुसन्धान परिषद्को पनि आफ्नै डिजिटल लाइब्रेरी छ तर त्यसको उदेश्य प्राय अनुसन्धानात्मक कृतिको अभिलेख राख्नु हो र यसले देशको स्वास्थ्य तथ्यांक अध्यावधिक गर्न खासै सहयोग गर्दैन l

अब के गर्ने?

स्वास्थ्य तथ्यांकलाई एकीकृत गर्ने अग्रणी भूमिका सरकारले अर्थात् स्वास्थ्य मन्त्रालयले निभाउनु पर्दछ l तर यसको लागि सरकारले विभिन्न सरोकारवालाहरुको सहयोग लिन सक्छ l डिजिटल लाइब्रेरी भित्र पनि “डकुमेन्ट सर्च” र “सूचक सर्च” को छुट्टाछुट्टै विकल्प राख्न सकिन्छ l सूचक सर्च गर्दा सिंगो कृति वा प्रतिवेदनको सट्टा केवल सूचकांक मात्र आउने व्यवस्था गर्न सकिन्छ l सुचाकंकको छेवैमा त्यसको श्रोतको लिंक, लेखक/प्रकाशक को नाम, मिति, कृतिको नाम आदि देखिने व्यवस्था ल्याउन सकिन्छ l

देश तथा बिदेशमा रहेका कम्प्युटर प्राविधिक तथा स्वास्थ्य सूचकको क्षेत्रमा जानकार व्यक्तित्व हरुको उपस्थितिमा  सर्वप्रथम त राष्ट्रिय स्तरमा यसको वहस हुनु आवश्यक छ l बहसमा एकीकृत स्वास्थ्य तथ्यांक प्रणालीका निम्नलिखित फायदाहरुको चर्चा गर्न सकिन्छ l

स्वास्थ्य क्षेत्रमा एकीकृत तथ्यांक प्रणाली हुनुका यी भिभिन्न फायदाहरु छन् l

  • चाहेको बेला तुरुन्तै तथ्यांक पाउन सकिने: एकीकृत स्वास्थ्य तथ्यांक प्रणाली भएमा जो सुकैले आफुले चाहेको बेला छोटो समयमा तथ्यांक पाउन सक्दछन् l
  • स्वास्थ्य अनुसन्धानलाई सघाउ पुग्ने : एकीकृत तथ्यांकको उपलब्धताले स्वास्थ्य अनुसन्धानलाइ समेत सघाउ पुग्दछ l
  • विश्वसनीय श्रोतको उपलब्धता : अहिलेको युगमा पत्रपत्रिका तथा इन्टरनेटमा थुप्रै सूचना-सामग्रीहरु पाउन सकिन्छ तर विभिन्न खाले श्रोत बाट आउने स्वास्थ्य सुचनामा एकरूपता नहुने हुनाले विश्वसनीय श्रोतको लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यक छ l

अनि मात्र एकीकृत स्वास्थ्य सूचक प्रणाली बनाउने प्रक्रियामा जान सकिन्छ l